 
 
                                                सुखी सदस्य, दिगो सहकारीको परिकल्पना सहित विगत दुई दशकदेखि सहकारी क्षेत्रमा अग्रणी रुपमा क्रियाशिल पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ग्लोवल मनी वीक २०२५ को अवसरमा युवा विधार्थी लक्षित वित्तीय साक्षरता अभिमूखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ । सप्ताहको पहिलो दिन पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमीमा अध्ययनरत ६१ जना बालबालिकाहरुलाई वित्तिय साक्षरता विषयमा प्रशिक्षण गराईएको हो । यस अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले बालबालिकाहरुलाई सानै उमेरबाट पैसाको महत्व, वित्तीय अनुशासन, बचत गर्ने तरिका, पारिवारिक बजेट, मान्छेको आवश्यकता र चाहनाको बारेमा सिकाउनु पर्ने बताउनुभयो । संस्थाका व्यवसाय विकास अधिकृत अभिषेक गुरुङ्गले वित्तीय साक्षरता विषयमा प्रशिक्षण दिनुभएको थियो भने यस अवसरमा विधार्थीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा फिस्टेल एकाडेमीका सहायक प्राचार्य कमल लामिछानेले सहकारीको यसखाले कार्यक्रम अत्यन्तै समसामयिक र उपलब्धीमूलक रहेको र यसबाट विधार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउनुभयो । यस अवसरमा संस्थाले विधार्थीहरुमा बचतको बानी बसाल्न सेभिङ्ग बक्स समेत उपलब्ध गराईएको थियो ।
नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा नेपालमा यहि चैत्र ४ देखी १० गतेसम्म १३ औं श्रृंखलाको ग्लोवल मनी वीक २०२५ सञ्चालन भईरहेको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, शीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्धेश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी वीक (Global Money Week-GMW) विश्वभर मनाउदै आईरहेको छ । यस वर्षको नाराका रूपमा “Think before you follow, wise money tomorrow” रहेको छ । पोखरा रोयल सहकारीले विगतका वर्षहरुमा समेत विभिन्न विधालय र कलेजहरुमा अध्ययनरत विधार्थीहरुसंग यो दिवसलाई भव्यताका साथ मनाउदै आएको र यस वर्ष समेत सप्ताहभरि विविध गतिविधीका साथ कार्यक्रम सञ्चालन गरिने संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।
काभ्रे जिल्लामा सञ्चालित सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरु संग एक कार्यक्रमका विच पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभा हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काभ्रे बचत तथा ऋण सहकारी सघं लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकाल एवं सीएमसी काभ्रेका अध्यक्ष मदन बस्नेतको संयोजकत्वमा १९ जना व्यवस्थापन प्रमुखहरु र पोखरा रोयल सहकारीको व्यवस्थापन विच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।
पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत एवं नेफ्स्कुन म्यानेजर्स क्लवका संयोजक भीमबहादुर गुरुङ्गको संयोजकत्वमा भएको कार्यक्रममा सिएमसि कास्कीका संस्थापक अध्यक्ष एवं पोखरा रोयल सहकारी संस्थाका मुख्य प्रवन्धक मीलन ढकालले पोखरा रोयल सहकारीको असल अभ्यासको वारेमा जानकारी गर्नु भएको थियो । हामीले २५ वर्ष अगाडी युवा अवस्था देखी नै सहकारीको परिकल्पना गरि सञ्चालन गरिएको र हाल त्यसले सार्थकता पाएको महशुस भएकोछ, हामी जहिले पनि सदस्य पहिला भन्ने भावना बाट अगाडी बढि रहेको छौ र पोखरा रोयल सहकारीलाई एउटा अध्ययनको केन्द्रको रुपमा लिएर स्वदेश तथा विदेश बाट थुप्रै सहकारीकर्मीहरु आउनु हुन्छ जसले गर्दा हामी आफ्नै आगनमा धेरै कुराहरु सिक्न पाई रहेका छौ प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले आफ्नो अनुभव सुनाउदै भन्नु भयो ।
पोखरा रोयल सहकारीको कुशल व्यवस्थापन र सञ्चालनवारे जानकार रहेको भए पनि प्रत्यक्ष रुपमा देख्दा साच्चै सुनेको जस्तो सुशासनमा चलेको सहकारी रहेछ सिएमसि काभ्रेका अध्यक्ष मदन बस्नेतले भन्नु भयो ।
काभ्रे जिल्ला सहकारीको उर्वर भुमि रहेको हुँदा व्यवस्थापन प्रमुखहरुलाई सुशासनमा सञ्चालन भएका सहकारीको अध्ययन अवलोकनको लागि चयन गरि भ्रमण आयोजना गरिएको काभ्रे बचत संघका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकालले भन्नु भयो । कास्की जिल्लाको समग्र सहकारी अभियानको वारेमा सिएमसि कास्कीका निवर्तमान अध्यक्ष अपिल कोईरालाले जानकारी गर्नु भएको उक्त अन्तरक्रिया कार्यक्रममा पोखरा रोयल सहकारीका सिईयो भीमबहादुर गुरुङ्गले सहजिकरण समेत गरि उक्त कार्यक्रम समापन गर्नु भएको थियो ।
 
 
                                                काठमाडौं । एउटा क्यासिनोको मजदुर । तलब जम्मा १० हजार रुपैयाँ । क्यासिनो सञ्चालकको सधैँ हेपाहा व्यवहार ! आफ्नो हक अधिकार खोज्दा कामबाट निकालिदिने सम्भावना पनि उत्तिकै ! यसको विकल्प के हुनसक्छ ?
माथि उल्लेखित कुरा वि.सं २०५०-५५ सालतिरको हो । जतिबेला पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ काठमाडौंको एक क्यासिनोमा मजदुर थिए । त्यसबेला उनले भोगेको जीवन कहानी हो यो ।
सहकारी सञ्चालन गर्नु अगाडि उनी काठमाडौंको एभरेस्ट क्यासिनोमा काम गर्थे । क्यासिनोमा जागिर खाँदै गर्दा त्यसको विकल्प खोज्नुपर्छ भनेर उनलाई सधैँ पिरोल्थ्यो । जागिरको विकल्पको खोजीमा लाग्दा उनीसहित केही युवा मिलेर सहकारीको यात्रा शुरु गर्ने निर्णय गरे ।
‘क्यासिनोमा पाँच वर्ष काम गरें । त्यहाँ मजदुरको रुपमा काम गर्थें । आफ्नो हक खोज्दा कारबाही गर्ने, घटुवा गरिदिने, उस्तै परे कामबाट नै निकाल्दिने सम्भावना हुन्थ्यो । त्यसरी काम गर्नुभन्दा आफ्नै नै केही काम गर्नुपर्छ, जागिरको विकल्प खोज्नुपर्छ भनेर जागिर छोडियो र सहकारीतिर लागियो’, गुरुङले सुनाए ।
त्यसपछि क्यासिनोमा सँगै काम गर्ने र अन्य चिनजानका साथीसहित २६ जना युवाको एउटा समूह बन्यो । त्यो समूहले काठमाडौंको अनामनगरमा वि.सं २०५५ सालमा रोयल बचत तथा ऋण सहकारी स्थापना गर्यो । त्यसबेला उनी संस्थापक उपाध्यक्ष बने ।
सहकारीको यात्रा सुरु गरेको ५-६ महिनामै उनीहरुले राम्रो सफलता पाए । त्यो सफलताले विभिन्न ठाउँमा शाखा खोल्ने पाइला लम्कायो । २०५६ सालमा पहिलो शाखा तनहुँ जिल्लामा खोलियो । जसको नेतृत्व गर्न गुरुङ पुगे । त्यसपछि कास्की, स्याङ्जा, चितवन, ललितपुर, मकवानपुरलगायत जिल्लाहरूमा शाखा विस्तार गरियो ।
विभिन्न जिल्लाहरूमा आक्रामक रुपमा सहकारीको पाइला लम्काइरहेको बेला एकाएक मुलुकमा केही सहकारी संस्थामा समस्या आयो । काठमाडौं केन्द्रित सहकारीहरूमा समस्या आउन थालेपछि सरकारले ब्रान्च मोडलमा सहकारी सञ्चालन गर्न रोक लगायो ।
सरकारले परिपत्र जारी गर्दै भएका ब्रान्च बन्द गरेर स्वायत्तमार्फत स्थानीयकरण गर्न भन्यो । सोहीअनुसार उनीहरुले प्रत्येक ब्रान्चमा लोकल टीम बनाए । गुरुङको भागमा पोखरा जानुपर्ने भयो । पोखरामा २०५९ जेठ ८ मा पोखरा रोयल सहकारीको नाममा स्वायत्त भएको थियो । उनी त्यसयता सोही ठाउँमा सहकारी हाँकिरहेका छन् ।
काठमाडौंमा सहकारी स्थापना गर्दा २४-२५ वर्षका २६ जना युवाले प्रतिव्यक्ति १० हजार रुपैयाँ पुँजी जुटाएका थिए । त्यो बेला धेरैले सहकारी के हो भनेर बुझेका नै थिएनन् । त्यस्तो अवस्थामा सहकारी शुरु गर्दा उनीहरूलाई केही गाह्रो पनि भयो । सहकारी बुझाउँदै बचत संकलन गर्दै सहकारी निरन्तर अगाडि बढ्यो ।
‘सहकारी बुझाउन हामी घरघरमा गयौँ । सहकारीसम्बन्धी विभिन्न गतिविधिहरू गर्यौँ । सदस्य बनाउन केन्द्रित भयौँ । त्यो बेला एकदुई जना सदस्य बनाउन मुस्किल पर्ने हामीलाई अहिले आफैं खोज्दै आउनुहुन्छ’, गुरुङले भने ।
आफूहरूले सुरु गरेको सहकारी अहिले देशकै उत्कृष्ट सहकारीका रुपमा कहलिँदा उनी दङ्ग छन् । त्यो बेलाको संघर्ष र अहिलेको सफलता देख्दा आनन्द मिल्ने उनी सुनाउँछन् ।
सहकारीमा अहिले शेयर सदस्य संख्या १० हजार १२९ पुगिसकेका छन् । ‘युवा र महिला सदस्यहरूमा बढी फोकस गरेका छौँ । अहिले सहकारीमा ७० प्रतिशत महिला र ३० प्रतिशत युवा छन्’, उनले भने ।
हाल सहकारीको प्रधान कार्यालय कास्कीको पोखरा महानगरपालिका- १० बुद्धचोकमा छ । जसको कार्यक्षेत्र कास्की, स्याङ्जा, तनहुँ, लमजुङ र पर्वत जिल्ला हो । यस सहकारीले बचत तथा ऋणसँगै रेमिट्यान्स, बीमा, समूह बचत, परामर्श र सामाजिक गतिविधि गर्दै आएको छ ।
पोखरा रोयल सहकारीको सेवालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउने अभियान चलाइरहेको छ । यसका लागि प्रविधिमैत्री सेवालाई द्रुत गतिमा अगाडि बढाएको उनले बताए ।
सीईओ गुरुङका अनुसार हाल १ हजार ९२० जनाले एटीएम सेवा, १ हजार ६९८ जनाले मोबाइल बैंकिङ, ३३३ जनाले एसएमएस सेवा र १५१ जनाले क्यूआर कोड प्रविधि प्रयोग गरिरहेका छन् । त्यसरी नै १ हजार २६० सदस्यले स्मार्ट परिचयपत्र बनाएका छन् ।
संस्थाको कारोबारलाई थप सुव्यवस्थित र समयानुकूल बनाउन कोर बैंकिङ प्रविधिलाई अवलम्बन गरिएको छ । तथ्याङ्कहरुलाई क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको छ । कनेक्ट आईपीएस, ट्याब्लेट बैंकिङ सुविधासमेत सुरु गरिएको छ ।
पोखरा रोयल सहकारीले पेन्सनसमेत दिने गरेको छ । रोयल फाउन्डेसनमार्फत ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यहरूलाई वार्षिक रुपमा जनही ५ हजारका दरले सहकारीले पेन्सन दिँदै आएको छ ।
सहकारीका सीईओ गुरुङले भने, ‘हामी नाफाभन्दा सेवामा केन्द्रित छौँ । सदस्यको जन्मदेखि मृत्युसम्मको सहारा बनेका छौँ । शिशुस्याहार राहत, स्वास्थ्योपचार, पेन्सनदेखि किरिया खर्चसम्म दिँदै आएका छौँ ।’
यसका लागि छुट्टै सहयोगी संस्था बनाइएको छ । जसको नाम रोयल फाउन्डेसन रहेको छ । यस संस्थाले पनि विभिन्न गतिविधिहरू गर्दै आएको छ ।
उनका अनुसार रोयल फाउन्डेसनमार्फत प्रतिसदस्य १० हजारका दरले मृत्यु राहत र ३ हजारका दरले सुत्केरी स्याहार रकम दिँदै आएको छ । सहकारीले सदस्यहरूको दुर्घटना बीमासमेत गरेको छ । यसबाहेक सहकारीमा व्यवसाय विकास सेवा डेस्क स्थापना गरिएको छ । कर्मचारीहरूमा पठन संस्कृति विकास गराउन पुस्तकालयमा अध्ययन अनुसन्धान गराइन्छ ।
संस्थामा तरलता व्यवस्थापन गर्न मिसन १०० अभियानमार्फत बचत र तरलता वृद्धि गरिएको छ भने यही अभियानमार्फत संकलन भएको बचत रकमलाई सरल र सहज रूपमा लगानीसमेत गरिएको छ ।
सहकारीले सदस्य र कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार दिँदै आएको छ । सदस्य, बाल बचतकर्ता, सेवा केन्द्र, बचत समूहको केन्द्रहरू र कर्मचारीलाई कारोबार तथा कार्य सम्पादनको आधारमा सम्मान तथा पुरस्कार दिँदै आएको छ । हरेक महिना उत्कृष्ट सदस्य घोषणा गरी सम्मान गर्दै आएको छ ।
त्यस्तै सहकारीले दर्जन बढी प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ । रोयल बचत, मासिक नियमित, लाभांश, नारी, ज्येष्ठ नागरिक, छुनुमुनु, संस्थागत, भ्रमण, बीमा, रेमिट्यान्स, आवधिक र मुद्दती बचत सञ्चालन गर्दै आएको छ ।
सहकारीले १० शीर्षकमा ऋण प्रवाह गर्दै आएको छ । संस्थाले व्यापार/व्यवसाय, घर/जग्गा, आवास/घर, औद्योगिक, शैक्षिक, कृषि, सवारीलगायतका शीर्षकमा ऋण प्रवाह गर्दै आएको छ ।
संस्थामा रोयल स्मार्ट बैंकिङ सेवा पनि सञ्चालनमा छ । जसबाट रकमको जानकारी, स्टेटमेन्ट, मोबाइल टपअप, बिल भुक्तानी, ट्रान्सफर, एटीएम र क्यूआर सेवा उपलब्ध छन् ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा १० हजारभन्दा बढी सदस्य छन् । संस्थाको सम्पत्ति साढे दुई अर्ब बढी छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा संस्थाको कुल सम्पत्ति २ अर्ब ५४ करोड २ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको शेयर पुँजी १५ करोड २६ लाख ६३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २१ करोड १७ लाख रुपैयाँ रहेको छ ।
सहकारीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । संस्थाको बचत निक्षेप संकलनतर्फ गत वर्षको तुलनामा वृद्धि भएको छ । यस सहकारीको बचत करिब दुई अर्ब रुपैयाँ पुगेको छ । चालू आवको दोस्रो त्रैमाससम्म सहकारीको कुल बचत एक अर्ब ९७ करोड ८० लाख ४४ हजार रुपैयाँ पुगेको छ । पोखरा रोयलको संस्थागत पुँजी २१ करोड ३० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिसम्ममा पोखरा रोयल सहकारीले एक अर्ब ६९ करोड ८१ लाख ५५ हजार रुपैयाँ ऋण लगानी गरेको छ । तरलता रकम ७५ करोड २७ लाख ६० हजार रुपैयाँ रहेको छ ।
सीईओ गुरुङका अनुसार बचत निक्षेपमा कम्तीमा १० प्रतिशतले वृद्धि गरिने यस सहकारीको योजना रहेको छ । अनिवार्य बचतको रकममा पनि वृद्धि गरिने योजना बनाएको छ । कुल ऋण लगानी कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने तयारी छ । ऋणको सदुपयोगिता जाँच गरिने र उत्पादनमूलक, आयमूलक र कृषि क्षेत्रमा ऋण लगानी केन्द्रित गरिने सहकारीको योजना रहेको उनले सुनाए ।
सहकारीले आफ्ना सदस्यहरूलाई व्यवसायमा जोड्ने गरेको छ । पोखरा महानगरपालिका- १० को बुद्ध चोकमा रोयल दिदीबहिनी किचन सञ्चालनमा छ । यो महिलाहरूले साढे दुई करोड लगानीमा शुरु गरेका हुन् । उनीहरूलाई पोखरा रोयल बचत तथा ऋण सहकारी जोडिदिएको हो ।
यो रेस्टुराँ सहकारीकी अध्यक्ष रुद्रकुमारी गुरुङको नेतृत्वमा सञ्चालन गरिएको छ । यसमा ९९ जना महिलाको जनही २ लाख लगानी छ । सहकारीको अवधारणाबाट सञ्चालित रेस्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ ।
सदस्य केन्द्रित सेवामा रोयल सहकारी रहेको उनको दाबी छ । सहकारीका सीईओ गुरुङ भन्छन्, ‘हामी नयाँ प्रविधि, सीपलाई आत्मसात गर्दै अगाडि बढेका छौँ । योजना बनाएका काम गर्छौँ । कामको समीक्षा गर्छौँ । विशेषगरी हामी सदस्य केन्द्रित नै भएर काम गर्छौँ ।’
उनका अनुसार सदस्यहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थाहरूसँग सम्झौता गरी सेवा दिइरहेको छ । बुद्धचोकमै ग्यालेक्सी हस्पिटल, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, न्यूरोडमा युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स, पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेस सेवा दिइरहेको छ । यी संस्थाहरूबाट सेवा लिँदा सहकारीका सदस्यहरूले सहुलियतसमेत पाउँछन् ।
पोखरा रोयल सहकारीमा देशभरबाट अध्ययन तथा अवलोकनका लागि आउने गरेका छन् । संस्था विभिन्न समयमा उत्कृष्ट व्यवस्थापकदेखि सर्वाधिक कर तिर्नेमा समेत सम्मानित हुँदै आएको छ । पछिल्लो पटक पनि नेफ्स्कुनद्वारा घोषणा गरिएको नेपालको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको समेत गुरुङले पुरस्कार पाएका छन् ।
पोखरा रोयल सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा समेत सम्मानित छ । आर्थिक वर्ष २०७१/७२ मा सहकारीलाई आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो ।
आफ्नो सेवालाई चुस्त दुरुस्त पार्न सहकारीमा विभिन्न उपसमिति गठन गरिएको छ । ऋण उपसमितिदेखि महिला, युवा, शिक्षा, स्वास्थ्यलगायतको उपसमिति गठन गरिएको छ । संस्थाले वित्तीय पहुँचभन्दा बाहिर रहेका धितो नभएका महिलाहरूलाई सरल वित्तीय सेवा प्रदान गरिरहेको छ ।
सहकारीमा सदस्य केन्द्रित कार्यक्रम गर्दै अगाडि बढ्ने हो भने सफल सहकारीको पहिचान बनाउन सकिने उनको अनुभव छ । ‘सहकारी सबै खराब छैनन् । राम्रो काम गरेका सहकारी पनि छन् । सफल सहकारीको पहिचान बनाउने हो भने सदस्यमै केन्द्रित भएर काम गरे पुग्छ’, गुरुङले भने ।
उनले सरकारको कानून मानेर अगाडि बढ्न अन्य सहकारीका सञ्चालकहरूलाई सुझाव दिए । गुरुङले सरकारले स्वायत्त गर भनेपछि हुन्छ भनेर सोहीअनुसार अगाडि बढेकाले आज सफलको ट्याग पाएको बताए ।
त्यो बेला धेरै सहकारीहरूले नटेरेका कारण अहिले उनीहरू आफैं विस्थापित भएको उनले जानकारी दिए । ‘हामी दुईचार वर्ष चलाउने भन्नेमा पटकै थिएनौँ । हामी लामो यात्रामा थियौँ । सुखी सदस्य र दिगो सहकारीको परिकल्पनासहित अगाडी बढ्यौँ । संस्थागत सुशासन कायम राख्दै सदस्यहरूमा उद्यमशीलता र रोजगारी विकास प्रवर्द्धन गर्ने अग्रणी सहकारी संस्थाको रुपमा चिनिएका छौँ’, उनले भने ।
नोटः केही वर्षयतादेखि सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सडकदेखि सदनसम्म सहकारी क्षेत्र चर्चामा छ । सहकारीविरुद्ध सडक आन्दोलनदेखि अब चाहिँदैन भन्दै विरोधसम्म भइरहेको छ । आमसमुदायसँग जोडिएको सहकारीका केहि बदमासीका कारण यस क्षेत्रको सबल पक्ष ओझेलमा परेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले आमसमुदायकाबीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको श्रृङ्खला प्रस्तुत गरेको हो ।
 
 
                                                पोखरा रोयल साकोसको वार्षिक कार्यक्रम अनुसार संस्थाले सदस्य शिक्षा कार्यक्रम सन्चालन गर्दै आएकोमा मोहरिया सेवाकेन्द्र अन्तर्गतका आफ्ना सदस्यहरुलाई मिति २०७८ पौष २३ गते सदस्य शिक्षा तालिम प्रदान गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक गीर बहादुर श्रेष्ठ, सन्चलाक समिति सदस्य तथा महिला उपसमिति संयोजक कृष्ण ढकाल, सन्चलाक समिति सदस्य तथा मोहरिया सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक उमा परियार, मोहरिया सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य सरिता अधिकारी लामिछाने, शिक्षा उपसमिति सदस्य विष्णुहरी ढकालको उपस्थिति रहेको थियो । सन्चालक समिति सदस्य उमा परियारले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको सन्चालन मोहरिया सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य पुर्णिमा अधिकारीले गर्नुभएको थियो । मोहरिया सेवाकेन्द्र अन्तर्गतका ११६ जना सदस्यको उपस्थिति रहेको तालिम कार्यक्रममा मोहरिया सेवा केन्द्र प्रमुख परमेश्वर दाहालले संस्थाको विभिन्न गतिविधि सहितको जानकारीमुलक प्रशिक्षण र सुपरिवेक्षक अविनाश पौडेलले डिजिटल सेवाहरुबारे सहजिकरण गर्नुभएको थियो ।
 
 
                                                पोखरा रोयल साकोसको वार्षिक कार्यक्रम अनुसार संस्थाले सदस्य शिक्षा कार्यक्रम सन्चालन गर्दै आएकोमा भण्डारढीक सेवाकेन्द्र अन्तर्गतका आफ्ना सदस्यहरुलाई मिति २०७८ पौष २ गते सदस्य शिक्षा तालिम प्रदान गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षा उपसमिति संयोजक तथा संस्थाका कोषाध्यक्ष गीर बहादुर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो। भण्डारढिक सेवा केन्द्र प्रमुख उमनाथ आचार्यले सहजिकरण गर्नुभएको तालिममा सेवाकेन्द्र आसपासका ८० जना सदस्यको उपस्थिति रहेको थियो ।
 
 
 
                                                सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीलाई पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका बीच स्वागत तथा बधाई ज्ञापन सहित अन्तरकृया गरेको छ । पोखराका स्थायी वासिन्दा अधिकारी भर्खरै मात्र सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको सचिव बाट सहकारी विभागको रजिष्ट्रारमा सरुवा भई जानुभएको हो । स्वागत कार्यक्रममा रजिष्ट्रार अधिकारीले सहकारी क्षेत्र फराकिलो र व्यापक रहेको, यसभित्र धेरै सम्भावना रहेको र यसलाई व्यवस्थित र गुणात्मक रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । साथै सहकारी क्षेत्र संवेदनशील भएकोले सदस्य र नागरिकको विश्वास जित्दै मर्यादित व्यवसायको रुपमा स्थापित गराउनुपर्ने वर्तमानको चुनौति रहेको भेटघाटको क्रममा बताउनुभयो । गण्डकी प्रदेशकै उत्कृष्ठ सहकारीबाट आफ्नो सहकारीको कार्यक्रम प्रारम्भ गर्न पाएकोमा गौरव महसुस गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नुभयो । साथै आफ्नो कार्यकालमा सहकारी विभागको उपस्थिति ससक्त बनाउने, नीतिगत अस्पष्टताहरुलाई सरलीकृत गर्दै सहकारीलाई हेर्ने नजरमा परिवर्तन गर्न लागि पर्ने प्रतिवद्धता समेत बताउनुभयो । पोखरा रोयल साकोसका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग (मैना) को अध्यक्षतामा भएको स्वागत तथा अन्तरकृया कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले संस्थाको गतिविधी, सहकारी अभियानको उपलब्धि र अभियानले भोगिरहेको समस्याको बारेमा संक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो । संस्थाका सञ्चालक तथा वरिष्ठ कर्मचारीहरुको उपस्थितिमा भएको कार्यक्रमको सचिव केशवप्रसाद ढकालले सञ्चालन र उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्गले स्वागत गर्नुभएको थियो । संस्थाले केहि समय अगाडि मात्रै साप्ताहिक रुपमा २०औं वार्षिक साधारण सभा सम्पन्न गर्दै रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा नयाँ सञ्चालक समिति र हर्कबहादुर गुरुङ्गको संयाेजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रुपमा चयन गरेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो ।